गैर-आवासीय नेपाली संघ युवा मंचले विपद व्यवस्थापन सम्बन्धि तालिम आयोजना गर्ने

Published On: Friday, April 20, 2018 | Source: NRNA Youth
गैरआवासीय नेपाली संघ युवा फोरमले विपद व्यवस्थापन सम्बन्धि तालिम आयोजना गर्ने
          नेपालमा भूकम्प, बाढी, शितलहर जस्ता विपदका बेला गैरआवासीय नेपाली संघले उद्धार तथा राहतमा सहयोग पुर्याउदै आएको सर्वविदितै छ l नेपालमा विपदका बेला स्वयंसेवकका रुपमा खटिने युवाहरुमा विपद व्यवस्थापन सम्बन्धी ज्ञानको कमी भएको अनुभव गैरआवासीय नेपाली संघको रहेको छ l यसै सन्दर्भमा युवाहरुमा विपद व्यवस्थापन संबन्धि ज्ञान एवं दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ युवा फोरमले यो तालिम आयोजना गर्न लागेको हो l विपद्का बेला उद्धार एवं राहत कार्यमा खटिने स्वयंसेवक नै विपदको  पहिलो प्रत्यक्षदर्शी हुने गर्दछ, अतः विपदका बेला खटिने स्वयंसेवकले सो क्षेत्रको आधारभूत तथ्यको संकलन तथा प्रतिवेदन तयार गरि समबन्धित निकायमा सुचित गर्न सकेमा विपद व्यवस्थापनमा सहजता आइ विपदबाट हुने क्षति कम हुन सक्छ l यस तालिम मार्फत युवाहरुमा विपदका बेला सुचना एवं तथ्यांक संकलनको विधि बारे ज्ञान प्रदान गरिनेछ l तालिम अन्तर्गत अन्तर्राष्ट्रिय मानवीय सिद्धान्त, जेनेभा कन्भेन्सन, विपद व्यवस्थापनमा नेपालको अनुभव तथा स्वयंसेवा सम्बन्धि विषयवस्तुमा युवाहरुमा शिक्षा प्रदान गरिनेछ l 
          नेपालका विभिन्न शैक्षिक संस्थामा स्नातक तहमा अध्ययनरत विशेषगरि कुनै न कुनै विपदसंग परिचित ७० जना युवाहरु यस तालिममा सहभागी हुनेछन l तालिम मिति २०७४ वैशाख १० गते नेपाल उद्धयोग वाणिज्य महासंघको भवनमा आयोजना हुनेछ l तालिममा सहभागी युवाहरुमा स्वयंसेवाको भावना अभिवृद्धि गराई उनीहरुलाई भविष्यमा गैरआवासीय नेपाली संघले संचालन गर्ने कार्यक्रमहरुमा सहभागी गराउनु यस तालिमको अर्को उद्देश्य हुनेछ l  तालिममा सहभागी युवाहरु गैर-आवासीय नेपाली संघले विपदका बेला वितरण गर्ने राहत, उद्धार तथा पुनःनिर्माणजस्ता गतिविधिमा संलग्न हुनेछन l तालिम पश्चात प्रशिक्षार्थीहरुको थप व्यक्तिगत विकासका लागि गैरआवासीय नेपाली संघ युवा फोरमले विभिन्न गतिविधि संचालन गर्नेछ l
           अतः नेपालमा विपद व्यवस्थापनमा संलग्न हुने स्वयंसेवकहरुमा व्यवसायिक क्षमता विकास गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ युवा फोरमले आयोजना गर्ने यस तालिममा सम्पूर्ण सम्बन्धित पक्षहरुको सहयोगका लागि हार्दिक अनुरोध गरिन्छ l
 
सुदन थापा
युवा संयोजक,
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद
काठमाडौँ, नेपाल